स्कन्द पुराण अनुसार, आकाशलाई पनि
लिङ्ग भनिएको छ। शिवलिङ्गको अर्थ शून्य, आकाश, अनन्त, निराकार, परम पुरुषको
प्रतीक हो। ब्रह्माण्डमा दुईवटा महत्वपूर्ण चिज छन्, एउटा
पदार्थ र अर्को शक्ति। यही दुई चिजको प्रतीक नै शिवलिङ्ग हो भनेर जानकार बताउँछन्।
शिवलिङ्गलाई भगवान् शिव र देवी पार्वतीको एकल स्वरूपका रूपमा पनि मानिन्छ। पनौतीमा
पनि प्रसिद्ध प्राचीन शिवलिङ्ग रहेका छन्, जसमध्ये भालेश्वर
महादेवको शिवलिङ्ग पनि एक हो।
भालेश्वर महादेवको मन्दिर पनौतीको प्राचीन मन्दिरध्येको एक हो।
यसलाई ६४ ज्योर्तिलिङ्गमध्येको एक मानिन्छ। हिन्दू धर्ममा ६४ शिवलिङ्गको महत्व
अत्यन्त उच्च छ।
दक्षप्रजापतिले आफ्नै ज्वाइँ महादेवको निन्दा गरे। यो सहन नसकी
यज्ञकुण्डमा सतीदेवी (दक्षप्रजापतिकी छोरी) ले हाम फालेर प्राण त्याग गरिन्।
त्यसपछि आफ्नी पत्नी सतीदेवीको शरीर बोकेर भगवान् महादेव पृथ्वी भ्रमण गर्दै
हिँड्ने क्रममा यहाँ आइपुग्दा भाल अर्थात् निधार पतन भई शिवलिङ्ग उत्पत्ति भएको
कुरा शास्त्रमा उल्लेख छ। लीलावती र सुखस्रभा नाम गरेका दुई नदीको संगममा भालेश्वर
शिवलिङ्गको उत्पत्ति भएको कुरा हिमवत खण्डमा उल्लेख छ। हिमवत खण्डमा इन्द्रेश्वर
महादेवको शिवलिङ्गभन्दा पश्चिमतिर निकुञ्जाचलको शिखरमुनि रहेको भालेश्वर मन्दिरमा
लीलावती नदीमा स्नान गरी पूजा गरे सिद्धि प्राप्त हुने कुराको पनि उल्लेख भएबाट
प्राचीन भालेश्वर मन्दिर यही हो भन्ने कुरा पुष्टि हुन्छ। भालेश्वर मन्दिरमा
सच्चा मनले आराधना गरे मनले चिताएको पुग्ने, जान–अन्जानमा
गरेको पापकर्मबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ। भालेश्वर शिवलिङ्ग रहेको
लीलावती र सुखस्रभा नदीको सङ्गमस्थललाई गन्धर्व तीर्थ पनि भनिन्छ। यसलाई गन्धर्व
तीर्थ भन्नुको पछाडि एउटा रोचक किंवदन्ती रहेको छ। एकपल्ट स्वर्गका अप्सरा
रम्भालाई सुमुख नाम गरेका गन्धर्वले आफ्नो मन थाम्न नसकी कामातुर भई चुम्बन गरे।
आफूलाई यसरी अचानक सुमुखले चुमेपछि रिसले चुर भएकी रम्भाले सुमुख गन्धर्वलाई
‘आजबाट तँ स्वर्गलोक छाडेर मत्र्यलोकको बासिन्दा भएस्’ भनेर श्राप दिइन्। उनको
श्रापका कारण स्वर्गबाट सुमुख गन्धर्व विमुख भएर पृथ्वीमा खसे। त्यसपछि सुमुख नाम
गरेका गन्धर्व लीलावती र सुखस्रभा नदीको सङ्गम स्थलमा आई तपस्या गर्न थाले। आफू
तपस्या गरिरहेका बेला उनले गालव नामक ऋषिलाई देखेर उनलाई प्रणाम गरे। उनले आफू
यहाँ आएको कारणबारे प्रस्ट गरे र आफ्नो मुक्तिको उपाय सुझाउन पनि ऋषिसामु अनुरोध
गरे। ऋषि गालवले उनलाई भने, ‘हे गन्धर्व ! यस पर्वतको शिखरमा
भालेश्वर महादेवको शिवलिङ्ग रहेको छ। नित्य स्नान गरी भक्तिपूर्वक शिवलिङ्गको पूजा
गर्नु। एक दिन अवश्य तिम्रो आराधनाबाट प्रशन्न भई भगवान् शिव प्रकट भई तिमीलाई
श्रापबाट मुक्ति दिलाउनु हुनेछ।
वर्ष दिनसम्म सुमुख गन्धर्वले नित्य स्नान गरी भक्तिपूर्वक
शिवलिङ्गको आराधना गरे। उनको तपस्याबाट भगवान् शिव प्रशन्न भई त्यसै
ज्योतिर्लिङ्गबाट प्रत्यक्ष दर्शन दिए। भगवान शिवले भने, ‘हे सुमुख ! तिम्रो भक्तिबाट म प्रशन्न भएँ। तिमीले मसँग चिताएको वर माग। म
दिन्छु।’ भगवान् शङ्करको यस्तो वचन सुनेर सुमुखले भने, ‘प्रभु,
हजुर अन्तर्यामी हुनुहुन्छ। मेरो पीडा भगवान्लाई ज्ञात छ। मलाई यो
श्रापबाट मुक्ति दिलाउनुप-यो प्रभु। हे परमात्मा मलाई चीरकालसम्म स्र्वगको सुखभोग
गर्न पाउने वरदान दिनुहोस्।’
मन्दिरको गर्भगृहमा तामाको
कवचसहितको शिवलिङ्ग रहेको छ। यो मन्दिर दक्षिणाभिमुख रहेको छ। मन्दिरको छाना र
गजुर तामाको छ। मन्दिरको गजुरबाट चार कुनामा स्वर्णाकृति नागहरू तलतिर झारिएका
छन्। मन्दिर वरपर काठका स–साना खम्बा उठाई बत्ती बाल्नका लागि ढलौटका पालाचा
राखिएका छन्।
गन्धर्व सुमुखको यस्तो प्रार्थना सुनेर भगवान् भोलेनाथले उनलाई
लामो समयसम्म स्वर्गको सुख भोग गर्न पाउने र आफ्नो सेवक भएर बस्न पाउने वरदान दिए।
वरदान पाएपछि इन्द्रलोकबाट देवताहरू आई सुमुखलाई विमान चढाई स्वर्गतिर लगे।
स्वर्गमा गएर रम्भासँग नित्य एक हजार वर्षसम्म आनन्दसँग स्वर्गको सुख भोग गरेपछि
भगवान शिवको प्रथम गण बन्न पुगेको कुरा हिमवत् खण्डमा वर्णन गरिएको छ।
पनौती नगरपालिका–१२ मा अवस्थित यो मन्दिर शक्ति पीठका रूपमा रहेको
छ। एकतले यो मन्दिर शिखर शैलीमा निर्माण गरिएको छ। मन्दिरको गर्भगृहमा
तामाको कवचसहितको शिवलिङ्ग रहेको छ। यो मन्दिर दक्षिणाभिमुख रहेको छ। मन्दिरको
छाना र गजुर तामाको छ। मन्दिरको गजुरबाट चार कुनामा स्वर्णाकृति नागहरू तलतिर
झारिएका छन्। मन्दिर वरपर काठका स–साना खम्बा उठाई बत्ती बाल्नका लागि ढलौटका
पालाचा राखिएका छन्। मन्दिरको पश्चिमतर्फ पुरानो ढुङ्गाको सानो आकारको बसाहासँगै
धातुको बसाहा रहेको छ। मन्दिरको पूर्वतर्फ छत्रसहितको हनुमानजीको मूर्ति छ।
दक्षिणतर्फ भने भक्त र भक्तिनीको मूर्ति स्थापित छन्। मन्दिरका भित्ताहरूमा विष्णु
र भैरवका मुखाकृति पनि कुँदिएका छन्। मन्दिर प्रवेशद्वारमा दुईतिर ढुङ्गाबाट
निर्मित सिंहका मूर्ति राखिएका छन्। मूल मन्दिरको वरपर पर्खालले घेरिएको छ।
भालेश्वर महादेवको मन्दिर परिसरमा अन्य नवनिर्मित मन्दिर र
शिवलिङ्ग पनि रहेका छन्। मन्दिरको उत्तर–पश्चिम कुनामा वि.सं. २०७३ भाद्र ९ गते
कृष्ण जन्माष्टमीका दिन निर्माण भएको राधाकृष्णको मन्दिर छ। मन्दिरको शिलालेखमा यो
मन्दिर श्री बद्रीबहादुर खत्री र श्रीमती शकुन्तला खत्रीबाट स्थापना भएको उल्लेख
छ। सोही मन्दिरको पछाडि चौंसठ्ठी शिवलिङ्ग स्थापना गरिएको छ। सोही स्थानमै नागको
शड्ढयामा आराम गरिरहेका भगवान् विष्णुको मूर्ति स्थापित छ। त्योभन्दा केही पर
उत्तरतर्फ भगवान् गणेश र सरस्वतीको मन्दिर रहेको छ।
भालेश्वर महादेवको शिवलिङ्गको एकातिर केही भाग काटिएको जस्तो
देखिन्छ। यसका बारेमा पनि एउटा रोचक जनश्रुति रहेको छ। धेरैपहिले भालेश्वर
महादेवको शिवलिङ्ग विविध भौगोलिक परिवर्तनका कारण पुरिएको थियो। यो कुरा कसैलाई
थाहा भएन। एकपल्ट एकजना बटुवा यहाँ आई बास बस्यो। आफूले ल्याएका सामलबाट खाना
पकाउन थाल्यो। दाउरा, स्याउला बालेर खाना पकाउन थालेपछि एक्कासि भाँडा
घोप्टियो। बटुवाले फेरि भाँडा बसाल्यो। फेरि भाँडा घोप्टियो। एवं प्रकारले
धेरैपल्ट यही क्रम दोहोरिएपछि बटुवालाई निकै रिस उठ्यो र भात चलाउने आफ्नो हातको
पन्यूले बेजोडसँग भुइँमा हान्यो। यसरी हान्दा शिवलिङ्गको टुप्पोमा प¥यो र त्यहाँबाट रगत बग्न थाल्यो। यो खबर गाउँभरि फैलियो। त्यहाँ के रहेछ
भनी उत्खनन गरेर हेर्दा भालेश्वर महादेवको शिवलिङ्ग फेला प¥यो।
त्यसपछि क्षमा पूजासहित भालेश्वर महादेवको आराधना गरे।
भालेश्वर
महादेव मन्दिरमा साँझ–बिहान नित्य पूजा हुन्छ। यसका अलावा यहाँ शिवरात्रि, माघेसंक्रान्ति, श्रावण संक्रान्तिमा भक्तजनको भीड
लाग्छ। यहाँ जङ्गम जातिका पूजारी रहेका छन्।
उत्तर
मध्यकालीन स्वरूपको यो भालेश्वर मन्दिर हिन्दू धर्मावलम्बीका लागि पवित्र
तीर्थस्थल हो।

0 Comments