हाल सामाजिक सञ्जाल र
सार्वजनिक स्थलमा धेरै सुनिने नाम हो जेन जी पुस्ता । यो शब्द सामान्यतया हालको
युवापुस्ताको एउटा विशेष पुस्तालाई जनाउँछ र यो पुस्ताको वर्गीकरण प्रायः सन् १९९७
देखि २०१२ को बीचमा जन्मिएका मानिसहरूलाई मानिन्छ ।यो पुस्ता पूर्ण रुपमा डिजिटल
युगमा जन्मिएका जसले स्मार्टफोन, इन्टरनेट, सामाजिक सञ्जाललाई भरपुर प्रयोग गर्दै टेक्नोलोजीको धेरै नै
प्रयोग गर्ने गर्छन । यो पुस्ताले समाजमा रहेका विकृति र विसंगतिलाई अनलाइनका मध्यमबाट नै
आन्दोलन गर्छन र आफ्नो अभिव्यक्ति सामाजिक सञ्जालबाट नै व्यक्त
गर्छन । आफ्नो व्यक्तिगत जीवन नै सामाजिक सञ्जालमा नै बिताउन रुचाउने यो पुस्ता आफूले तयार गर्ने सामग्री, कक्षा र शैक्षिक कार्य मात्रै होइन व्यवसाय वा रोजगारी नै
डिजिटल क्षेत्रमा खोज्ने गर्छन् ।
नेपालमा पनि यो
पुस्ता सामाजिक सञ्जाल, अनलाइन गेमिङ, फेशन, डिजिटल व्यापार, युट्युब जस्ता कुरामा धेरै
सक्रिय देखिन्छ। साथै, उनीहरू शिक्षा, राजनीति, प्रविधि लगायतका
क्षेत्रमा नयाँ विचार र सोच बोकेर अघि बढ्न खोजिरहेका छन्। नेपालमा यो पुस्ता चाहना र
प्राथमिकताहरू परम्परागत पुस्ताभन्दा फरक र प्रविधिमैत्री छन्।
नेपालमा जेन जी
पुस्ताले भोगेका समस्या
जेन जी पुस्ता नयाँ युगको प्रतिनिधि हुन्, तर उनीहरू पुरानो संरचना, अव्यवस्था र सीमिततामा अल्झिरहेका छन्। यो
पुस्ताले शिक्षित भए पनि रोजगारीको पर्याप्त अवसर पाएका छैनन्, सीपअनुसारका काम पाएका छैनन्, स्वरोजगार गर्ने चाहना भए पनि पर्याप्त समर्थन र लगानीको अभाव, डिजिटल शिक्षामा पहुँच नहुने, अनलाइन गेम, सामाजिक सञ्जालमा लत, डिजिटल दुनियाँमा
गुम्सिएर सामाजिक सम्बन्ध कमजोर, आत्मसम्मानप्रतिको असन्तुष्टि, डिप्रेसन, एन्जाइटी, आत्मघातको भावना बढ्दो, सामाजिक दबाब, पारिवारिक अपेक्षा र अस्थिर भविष्यका कारण तनाव, परामर्श सेवाको अभाव र मानसिक स्वास्थ्यप्रति बेवास्ता, देशमा अवसरको कमीले गर्दा विदेश जानुपर्ने बाध्यता, जेन जी को स्वतन्त्र सोच र
पुराना पुस्ताको परम्परागत सोचबीच दूरी, अभिव्यक्ति
स्वतन्त्रता, लव म्यारिज, करियर रोजाइ आदि
विषयमा टकराव, भ्रष्टाचार, नेताहरूको असक्षमता र
राजनीतिक अस्थिरताले निराश लगायतका तमाम समस्या यो पुस्ताले भोगिएका छन् ।
नेपालका जेन जीको
अपेक्षा के छ ?
नेपालका जेन जी
पुस्ता सरकारी जागिरभन्दा स्टार्टअप, फ्रीलान्सिङ, विदेशी रिमोट काम, इनोभेटिभ उद्यम गर्न रुचाउँछन्। IT, डिजिटल मार्केटिङ, गेम डेभलपमेन्ट, युट्युब,
Tiktok, ग्राफिक्स डिजाइन, एनिमेसन
आदिमा धेरै चासो दिएको पाइन्छ । अनलाइनबाट नै कमाइ
गर्ने सपना यो पुस्तामा बढ्दै गएको छ ।समाजमा भ्रष्टाचार, बेरोजगारी, लैंगिक विभेदजस्ता
सामाजिक समस्याप्रति धेरै नै चनाखो हुदै शासनमा पारदर्शिता, न्याय, समानता र नयाँ सोच
भएका नेताहरू
यो पुस्ताले खोजिरहेका छन् । घोकन्ते
शिक्षा प्रणालीको आलोचना गर्दै व्यावसायिक, सीपमूलक र प्राविधिक
मैत्री शिक्षाप्रति बढी नै रुचि यो पुस्ताले देखाईरहेको छ ।यो पुस्ता आफ्ना विचार, शैली, विश्वास खुला रूपमा
अभिव्यक्त गर्ने स्वतन्त्रता चाहन्छन्। हाम्रो अनलाइन सरकारी सेवा, डिजिटल नागरिकता, सहज प्रणाली र
जनमैत्री नीतिको अपेक्षा पनि यो पुस्ताले गरिरहेको छ ।
नेपालका जेन जी
पुस्ता
र राजनीति
नेपालका जेन जी पुस्ता नवीन सोच, प्रविधिमैत्री
क्षमताहरू र सामाजिक चेतनाले भरिएका छन्। उनीहरू परिवर्तनको संवाहक हुन्, तर राजनीतिक भ्रष्टाचार, निराशाजनक नेतृत्व र
अवसरको अभावले गर्दा उनीहरू राजनीतिबाट विमुख भइरहेका छन्। यदि शिक्षा प्रणाली
सुधार गरियो, प्रविधिको माध्यमबाट राजनीतिक सन्देश फैलाइयो, युवालाई बोल्न, नेतृत्व गर्न र
निर्णयमा भाग लिन अवसर दिइयो भने — जेन जी पुस्ता नै नेपालको
राजनीति परिवर्तन गर्ने प्रमुख शक्ति बन्न सक्छ।जसका लागि विद्यालयदेखि नै नागरिक
शिक्षा, संविधानको जानकारी, लोकतन्त्रका मूल्यहरू
सिकाउने, बहस, छलफल, चुनावको अभ्यासजस्ता
सिमुलेसन कार्यक्रम सञ्चालन गर्ने, सामाजिक सञ्जाल, युट्युब, पोडकास्ट आदिबाट
राजनीतिक सन्देश फैलाउने, युवालाई लक्षित
प्रभावशाली डिजिटल क्याम्पेन सञ्चालन गर्ने, पार्टी भित्रको
विद्यार्थी र युवा संगठनहरूलाई सशक्त बनाउने, कलेज/युनिभर्सिटीको
चुनावलाई निष्पक्ष र रचनात्मक बनाउने, पब्लिक फोरम, डिबेट प्रतियोगिता, युवा संसद, विचार मञ्च सञ्चालन गर्ने, “तपाईं पनि नेता बन्न
सक्नुहुन्छ” भन्ने उत्साहजनक अभियान सुरु गर्ने, भ्रष्टाचार नगर्ने, व्यवहारिक र क्रियाशील युवाहरूलाई अगाडि ल्याउने लगायतका काम
गर्ने हो र उनीहरूलाई "हामी परिवर्तन हौं" भन्ने भावना दिँदा मात्र
उनीहरू राजनीति सुधारका भाग बन्न सक्छन्।

0 Comments