कार्यालय
भनेको कुनै पनि संगठित संस्थाको प्रमुख सञ्चालन केन्द्र हो । यहाँ विभिन्न
प्रशासनिक कार्य, योजनाको
निर्माण, नीति
निर्माण, निर्णय
प्रक्रिया तथा कर्मचारी व्यवस्थापन जस्ता गतिविधि सञ्चालन गरिन्छ । कार्यालयले
संस्थाको लक्ष्य प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्छ । सुव्यवस्थित कार्यालयले
कर्मचारीहरूको उत्पादक क्षमता बढाउँछ । स्वच्छ वातावरण,
राम्रो सञ्चार
व्यवस्था, प्रविधिको
समुचित प्रवन्ध र उपयोग, समयको
प्रभावकारी उपयोग एक सफल कार्यालयका आधारशीला हुन् । साथै कार्यस्थलमा सकारात्मक
वातावरणले कर्मचारीको मनोबल उच्च राख्न मद्दत पुर्याउँछ ।
एक
व्यवस्थित पार्टी कार्यालय भनेको केवल भवन होइन, त्यहाँ राजनीतिक संस्कारको प्रतिविम्बन
हुन्छ । जब पार्टी कार्यालय प्रगतिशील, पारदर्शी र जनमुखी हुन्छ,
त्यो पार्टी
जनविश्वासका दृष्टिले पनि बलियो हुन्छ । आजको युगमा यस्तो कार्यालय निर्माण समयको
माग हो । पार्टी कार्यालय र देश विकास, समृद्धि र प्रगतिको मार्गमा राजनीतिक
दलहरूको भूमिका सर्वोपरी हुन्छ । ती दलहरू नीति निर्माण,
जनचेतना
अभिवृद्धि, नेतृत्व
निर्माण, विकास
र सशक्तीकरण एवं सामाजिक समन्वयका मूल आधार हुन् । यी सबै प्रक्रिया सञ्चालन हुने
मुख्य थलो हो- पार्टी कार्यालय । पार्टी कार्यालय केवल संगठन चलाउने ठाउँमात्र
नभएर देश विकासको सोच र योजना जन्माउने केन्द्र पनि हो । राजनीतिक दल कुनै पनि
लोकतान्त्रिक व्यवस्थाको मुख्य आधार हुन् । ती दलका गतिविधि,
संगठन र
नीति निर्माण गर्ने थलो पार्टी कार्यालय भएको हुँदा समग्र संगठनलाई व्यवस्थित,
सुदृढ र
जनउत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।
पार्टी
कार्यालयको महत्व
पार्टी
कार्यालयले पार्टीका दस्तावेज, नीति, पार्टी सदस्यता र अन्य प्रशासनिक
गतिविधिहरूको व्यवस्थापन गर्छ । पार्टीको आन्तरिक लोकतन्त्र र संगठनात्मक ढाँचा
कार्यालयमार्फत नै सञ्चालन हुन्छ । तसर्थ पार्टी कार्यालय राजनीतिक प्रणालीको आधार
हो र यसको प्रभावकारी सञ्चालनले लोकतन्त्रलाई बलियो बनाउन मद्दत पुर्याउँछ ।
पार्टी कार्यालयले विकासका योजनाहरूलाई व्यवहारमा उतार्न,
जनहितमा
हुने आन्दोलनका नारा तयार गर्न र सुधारात्मक कार्यका लागि भूमिका खेल्छ । कानून
निर्माणको प्रस्ताव र राष्ट्रिय एजेन्डा बनाउने प्रक्रिया पार्टी कार्यालयबाटै
सुरू हुन्छ । यो थलो राष्ट्रको भावी दिशा तय गर्ने विचार निर्माणको आधार स्थल पनि
हो ।
संविधान र पार्टी
कार्यालय
संविधान
एउटा राष्ट्रको सर्वोच्च कानूनी दस्तावेज हो, जसले राज्य सञ्चालनका मूल सिद्धान्त,
विभिन्न
अंगहरूको भूमिका, नागरिक
अधिकार र राजनीतिक संरचनाको रूपरेखा निर्धारण गर्छ । राजनीतिक दलहरू संविधानमा
परिकल्पित लोकतान्त्रिक व्यवस्थाका प्रमुख संवाहक हुन् र तिनको आधारभूत सञ्चालन
केन्द्र भनेको पार्टी कार्यालय हुने हुँदा संविधानसँग पार्टी कार्यालयको
अन्योन्याश्रित सम्बन्ध हुन्छ । संविधानको धारा २६९ अनुसार ‘राजनीतिक दल दर्ता
गर्नुपर्नेछ र तिनले आन्तरिक लोकतन्त्र, पारदर्शिता, लेखापरीक्षण र समावेशी सहभागितालाई आत्मसात
गर्नुपर्नेछ ।’ यस अर्थमा पार्टी कार्यालय त्यो संरचना हो,
जहाँ यी सबै
संवैधानिक मूल्यहरूको अभ्यास हुने अपेक्षा गरिन्छ । यसको समुचित प्रवन्ध र
व्यवस्थापनका लागि के के कुरा पुगेको छैन भन्नेबारेमा राम्ररी विचार पुर्याउनु
आजको ज्वलन्त आवश्यकता हो ।
संविधानले
सबै राजनीतिक शक्ति जनताप्रति उत्तरदायी हुनुपर्ने बताउँछ । पार्टी कार्यालय भनेको
त्यो ठाउँ हो, जहाँ
जनताले गुनासो राख्न, नेतासँग प्रत्यक्ष संवाद गर्न र सूचित हुने
अपेक्षा गर्छन् । यस्तो वातावरण बनाउन पार्टी कार्यालयले संवैधानिक भावनाअनुसार
खुला र पारदर्शी हुनुपर्छ । संविधान संकटमा पर्दा (सरकार विघटन,
संसद अवरोध,
अदालतको
निर्णयको अवज्ञा आदि) भएमा त्यसको निराकरणको नीति पार्टी कार्यालयहरूबाटै तय हुन्छ
। त्यसैले पार्टी कार्यालय संवैधानिक स्थिरता कायम गर्ने वा समस्या समाधानको उपाय
खोज्ने महत्वपूर्ण प्लेटफर्म हो भन्दा अत्युक्ति नहोला ।
पार्टी कार्यालय
र जनता
लोकतन्त्रको
मूल मन्त्र हो- जनताको शासन, जनताको लागि, जनताबाट । यो सन्दर्भमा राजनीतिक दलहरू
जनताको प्रतिनिधि हुन् । पार्टी कार्यालय ती दलहरूको सञ्चार,
योजना र
कार्यान्वयनको केन्द्र हुन । पार्टी कार्यालयहरू आमकार्यकर्ता र जनताको पहुँचभित्र
छन् वा छैनन भन्ने विषयमा नेतृत्वको राम्ररी ध्यान पुगेको हुनुपर्छ ।
पार्टी
कार्यालय केवल नेताहरूको बैठक गर्ने वा प्रेस विज्ञप्ति निकाल्ने ठाउँमात्र होइन,
त्यो
नागरिकको आवाज सुन्ने र समाधान खोज्ने थलो पनि हो । जनताले आफ्ना गुनासा,
सुझाव वा
समर्थन लिएर सीधै सम्पर्क गर्नसक्ने माध्यम बन्न सक्नुपर्छ । नेताहरू केवल चुनावका
बेलामात्र जनतासँग भेटघाट गर्छन् भन्ने भाष्यको अन्त्य हुनुपर्छ । यसले राजनीतिक
दल र जनताको सम्बन्ध प्रवलीकरण गर्नमा मद्दत पुर्याउँछ । आजको युगले जनमैत्री
पार्टी कार्यालयको अपेक्षा गर्दछ । कार्यालयहरू पनि चुनाव केन्द्रितमात्र भए भने
राजनीतिक दलले वाञ्छित लक्ष्य भेदन गर्न सक्दैन ।
तसर्थ
पार्टी कार्यालयले जनतासँग साप्ताहिक संवादको व्यवस्था गर्नुपर्छ । जनताले गुनासो
राख्नसक्ने अनलाइन र अफलाइन व्यवस्था हरसम्भव प्रणालीको व्यवस्था गरी समग्र
समस्याहरूको निराकरण गर्न सक्नुपर्छ । तालिम र सीपमूलक गतिविधिका लागि सक्रिय
भूमिका खेल्ने आधार बनोस् भन्ने पार्टीप्रेमी सबैको चाहना हुन्छ । पार्टी कार्यालय
र जनताबिचको सम्बन्ध किमार्थ औपचारिकमात्र हुनुहुँदैन । जब पार्टी कार्यालय जनताको
भलाइका लागि सक्रिय हुन्छ, तबमात्र पार्टीप्रतिको विश्वास बढ्छ र
लोकतन्त्र बलियो हुन्छ ।
पार्टी कार्यालय
र देश विकास
देशको
समृद्धि र विकासको मार्गमा राजनीतिक दलहरूको भूमिका अग्रणी हुन्छ । ती दलहरू नीति
निर्माण, जनचेतना
अभिवृद्धि, नेतृत्व
उत्पादन र सामाजिक समन्वयका मूल आधार हुन् र यी सबै प्रक्रिया सञ्चालन हुने मुख्य
थलो हो- पार्टी कार्यालय । पार्टी कार्यालयमा नेताहरू,
विज्ञहरू र
कार्यकर्ताहरू भेला भएर राष्ट्रिय नीति निर्माणमा छलफल गर्छन् । शिक्षा,
स्वास्थ्य,
पूर्वाधार,
कृषि,
रोजगारी
जस्ता विकासका मूल मुद्दामा यही रणनीति तय हुन्छ । जब कार्यालयमा दीर्घकालीन सोच र
अनुसन्धानमा आधारित नीति बनाइन्छ, त्यसले देश विकासमा सकारात्मक प्रभाव पार्छ
। देश चलाउने नेतृत्व मन्त्री, सांसद, जनप्रतिनिधि सबै पार्टीबाट आउँछन् र तिनै
पार्टीका ज्ञानेन्द्रीय हुन्छन् । पार्टी कार्यालयले यस्ता नेताहरूलाई तयार पार्ने
विद्यालयको रूपमा काम गर्नसक्छ । नियमित प्रशिक्षण, विचार गोष्ठी,
अन्तरक्रिया
कार्यक्रमले विवेकशील, इमानदार र दूरदर्शी नेतृत्व विकास गर्न
मद्दत गर्छ ।
यी
समग्र मामिलाहरूलाई राजनीतिक एजेन्डा बनाई देशका योजना र बजेटमा प्रतिबिम्बित
गरिन्छ । यस्तो प्रक्रिया हुँदा राज्यको योजना जनमुखी र परिणाममुखी बन्नसक्छ ।
नत्र भने परिमार्जन हुनुपर्छ । एक सशक्त पार्टी कार्यालयले विकास योजनाहरूको
अवलोकन, अनुगमन
र कार्यान्वयनमा भूमिका खेल्नसक्छ । बजेट सदुपयोग, सार्वजनिक सेवाको गुणस्तर,
भ्रष्टाचार
नियन्त्रण जस्ता विषयमा जनप्रतिनिधिलाई सचेत गराउने, संसदमा आवाज उठाउने र जनतालाई सूचित गराउने
कामको सूत्रपात पार्टी कार्यालयबाटै हुन्छ । आधुनिक पार्टी कार्यालयहरूले
प्रविधिको प्रयोग गरेर नयाँ सोच, नवप्रवर्तन र अनुसन्धानलाई प्राथमिकता दिन
सक्छन् । यो प्रवृत्तिले दलहरूलाई परम्परागत राजनीतिक अभ्यासबाट अगाडि बढेर नयाँ
युगमा देश विकासको नेतृत्व लिन सक्षम बनाउँछ ।
नेपालमा पार्टी
कार्यालयहरूको अवस्था
नेपालमा
लोकतान्त्रिक अभ्याससँगै राजनीतिक दलहरूको भूमिका उल्लेखनीय छ,
तर यिनै
दलहरूको मूल संगठनात्मक केन्द्र पार्टी कार्यालयहरूको अवस्था सुधार्न धेरै काम
बाँकी देखिन्छ । कार्यालयहरूको भौतिक पूर्वाधारदेखि संगठनात्मक व्यवस्थासम्म
सुधारको खाँचो देखिन्छ । केन्द्रमा रहेका केही ठूला दलहरूसँग आफ्नै पार्टी
कार्यालय भवन छन् । यी कार्यालयहरू केही हदसम्म व्यवस्थित देखिए पनि अधिकांश
क्षेत्रीय र जिल्लास्तरका कार्यालयहरू भने भाडाको कोठामा चलिरहेका छन्,
कतिपय त
स्थायी ठेगानाविहीन पनि छन् । यस्तो अवस्थाले संगठनात्मक स्थायित्वमा असर पुर्याउँछ
। तसर्थ विभिन्न प्रतिष्ठानभन्दा उचित मापदण्ड बनाएर कमसेकम केन्द्रमा पार्टी
कार्यालय निर्माण गर्न सरकारी भूमिका खोजी हुनुपर्छ ।
सांसद
तथा अति विशिष्ट नेताहरूलाई राज्यले उपलब्ध गराउने सहयोगीहरू पार्टी कार्यालयकै
कर्मचारीसरह नियमित कार्यालयमा उपस्थित भै नीति, नियम तथा विधेयकहरूमाथि छलफल गरी सुझाव
तयार गर्ने परिपाटी बसाउन सके राम्रो परिणामको अपेक्षा गर्न सकिन्छ । अहिलेसम्म
अधिकांश पार्टी कार्यालयहरू कागजी फाइल प्रणालीमा नै सीमित छन् । डिजिटल अभिलेख,
सदस्यता
प्रणाली वा अनलाइन गुनासो व्यवस्थापन जस्ता प्रणाली व्यापक रूपमा कार्यान्वयनमा
छैनन् । यसले पारदर्शिता, कार्यशिघ्रता र जनसम्पर्कमा बाधा पुर्याउँछ
। नेपालका राजनीतिक दलका पार्टी कार्यालयहरू अझै पनि संगठनको आत्मा बन्नुभन्दा
एउटा भवनको रूपमा मात्र सीमित देखिन्छ । यिनलाई सक्रिय,
उत्तरदायी र
समावेशी बनाउनु वर्तमान राजनीतिक सुधारको अनिवार्य पक्ष हो । जब पार्टी कार्यालय
जीवन्त हुन्छ, तब
पार्टी आफैं जनमुखी र सशक्त बन्नसक्छ ।
पार्टी कार्यालय
व्यवस्थापन
राजनीतिक
दलको शक्ति त्यसको संगठनात्मक संरचनामा निर्भर हुन्छ । त्यो संगठनको केन्द्र भनेकै
पार्टी कार्यालय हो । व्यवस्थित, दक्ष र जनमैत्री पार्टी कार्यालयले केवल
पार्टीको छवि सुधार गर्दैन, त्यसले कार्यकर्ताको मनोबल उकास्न,
जनसम्पर्क र
नीतिगत निर्णयमा प्रभावकारिता समेतमा योगदान पुर्याउँछ । त्यसैले पार्टी कार्यालय
व्यवस्थित बनाउने विषय अत्यन्तै महत्वपूर्ण छ । कार्यालयमा स्पष्ट कार्यविभाजन,
अभिलेख
व्यवस्थापन, प्रविधि
प्रयोग, खुला
र समावेशी वातावरण, प्रत्यक्ष जनसुनुवाइ कार्यक्रम,
नियमित गतिविधिका
लागि उचित भौतिक संरचना र आचारसंहिता हुनु जरुरी छ । राजनीतिक दलहरूको सफलता केवल
नेताहरूको भाषणले मात्र पूरा हुँदैन । त्यसको मूल संगठनात्मक संरचना,
त्यसमा
कार्यरत कर्मचारीहरू र तिनको कार्यदक्षता पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ ।
पार्टी
कार्यालयमा कार्यरत कर्मचारीहरू संस्थाको नियमित सञ्चालन,
अभिलेख
व्यवस्थापन, जनसम्पर्क
र सूचना प्रसारणमा अत्यावश्यक भूमिका खेल्छन् । सूचना संकलन,
विश्लेषण र
सम्प्रेषणमा उचित ध्यान पुर्याउनुपर्छ । नेपालका अधिकांश राजनीतिक दलहरूको
कार्यालयमा काम गर्ने कर्मचारीहरू अस्थायी, न्यून पारिश्रमिकमा र प्रायः तालिमविहीन
अवस्थामा देखिन्छन् । उनीहरूलाई संगठनले सुरक्षा र वृत्ति विकासको अवसर नदिएको
पाइन्छ । यसले कर्मचारीहरू बारम्बार परिवर्तन हुने समस्याले हरदम शिकारूपनको
प्रभाव पर्छ र परिपक्व, विकसित हुन पाउँदैन ।
तसर्थ
पार्टी कार्यालयमा स्थायी कर्मचारी संरचना विकास, राजनीतिक मूल्य,
नीति
निर्माण, सूचना
प्रवाह र प्रविधिको प्रयोगसम्बन्धी तालिम, पारिश्रमिक, सुरक्षा र प्रतिष्ठालाई सुनिश्चित र
कर्मचारीको कामको मूल्याङ्कन, पदोन्नति र जवाफदेहिता प्रणाली स्पष्ट
हुनुपर्छ । पार्टी कार्यालयका कर्मचारीहरू नदेखिने, तर चलिरहने हात झैं हुन् । उनीहरूको दक्षता
र समर्पणले पार्टीलाई आन्तरिक रूपमा ऊर्जाशील र प्रवलीकृत गराउनमा मद्दत गर्छ ।
यदि राजनीतिक दलहरू सशक्त संगठन बन्न चाहन्छन् भने आफ्ना कार्यालयका कर्मचारी
संरचनालाई पनि सुदृढ, सशक्त र व्यावसायिक बनाउन जरुरी छ ।
निष्कर्ष
राजनीतिक
दलहरू जनताको विचार र आकांक्षाको प्रतिनिधित्वलाई संस्थागत ढंगले अघि बढाउनुपर्छ ।
यस्ता दलहरूलाई सुचारु रूपमा सञ्चालन गर्न पार्टी कार्यालयको महत्वपूर्ण भूमिका
रहन्छ । निष्कर्षमा भन्न सकिन्छ कि राजनीतिक
दलहरू सशक्त
र उत्तरदायी हुनु आवश्यक छ भने पार्टी कार्यालयहरू सक्षम,
पारदर्शी र
लोकतान्त्रिक अभ्यासको केन्द्र हुनुपर्छ । त्यसैले दलहरूले आफ्ना कार्यालयहरूलाई
केवल औपचारिक संरचनामात्र नभई जनताको सेवामा समर्पित सजीव संस्थानका रूपमा विकास
गर्नुपर्ने आजको आवश्यकता हो । आजसम्म पनि हाम्रो देशका पार्टीहरूको कोष अभिवृद्धि
(फन्ड रेजिङ) नीति र विधि पारदर्शी छैन । यसर्थ पार्टी कार्यालयले पारदर्शी कोष
अभिवृद्धि नीति र विधि निर्माण एवं अनुमोदनमार्फत अघि नबढे अस्तित्व संकटको सामना
गर्नुपर्ने हुन्छ ।
(माधव अधिकारी)

0 Comments